काठमाडाैं-दक्षिण अफ्रिकाविरुद्धको टी२० सिरिज र इङ्ल्यान्डविरुद्धको एकमात्र टेस्टका लागि भारतीय टोलीको घोषणा गरिएको छ। टी२० टोलीमा कप्तान रोहित शर्मासहित विराट कोहली, जसप्रित बुमराहजस्ता सिनियर खेलाडीलाई आराम दिइएको छ।
केएल राहुलले यो टोलीको कमाण्ड सम्हाल्नेछन्, जुन टोलीमा हार्दिक पाण्ड्या र दिनेश कार्तिकले पुनरागमन गरेका छन्।
उमरान मलिक र अर्शदीप सिंह यस टोलीका नयाँ अनुहार हुन्। ऋषभ पन्त टी२० टोलीको उपकप्तान बनेका छन्।
यता, दीपक चाहर, रविन्द्र जडेजा र सूर्यकुमार यादवले टी२० टोलीमा स्थान बनाउन सकेनन्। तीनै खेलाडी चोटका कारण विभिन्न समयमा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ बाट बाहिरिएका थिए।
दीपकको ढाडमा चोट लागेको थियो। उनी आईपीएलको कुनै पनि खेल नखेलेर बाहिरिएका थिए। जडेजाको करङ र सूर्यकुमार यादवको बायाँ हातमा चोट लागेको छ।
भारतको पछिल्लो टी२० सिरिजमा परेका खेलाडीबाट मोहम्मद सिराज र सञ्जु सामसन बाहिरिएका छन्।
टी२० टोली–
केएल राहुल (कप्तान), ऋतुराज गायकवाड, इशान किशन, दीपक हुडा, श्रेयस अय्यर, ऋषभ पन्त (उपकप्तान/विकेटकिपर), दिनेश कार्तिक (विकेटकिपर), हार्दिक पाण्ड्या, भेंकटेश अय्यर, युजवेन्द्र चहल, कुलदीप यादव, अक्सर पटेल, रवि बिश्नोई, भुवनेश्वर कुमार, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह, उमरान मलिक
योसँगै चेतेश्वर पुजाराले इङ्ल्यान्डविरुद्धको एकमात्र टेस्ट खेलका लागि भारतीय टोलीमा पुनरागमन गरेका छन्। दक्षिण अफ्रिकामा खराब प्रदर्शन गरेपछि उनी श्रीलंकाविरुद्धको घरेलु टेस्ट सिरिजबाट बाहिरिएका थिए।
काउन्टी क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि उनी अहिले टोलीमा फर्किएका हुन्। चोटका कारण आईपीएलबाट बाहिरिएका जडेजाले पनि १७ सदस्यीय टोलीमा स्थान बनाएका छन् भने चर्चित खेलाडी प्रसिद्ध कृष्णा नयाँ खेलाडी हुन्। इङ्ल्यान्डविरुद्धको यो टेस्ट जुलाई १ देखि ५ सम्म एजब्यास्टनमा हुनेछ।
टेस्ट टोली–
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हनुमा विहारी, चेतेश्वर पुजारा, ऋषभ पन्त (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविन्द्र जडेजा, रवि अश्विन, शार्दुल ठाकुर, मोहम्मद शामी, जसप्रित बुमराह, मोहम्मद सिराज, उमेश यादव, प्रसिद्ध कृष्णा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।