काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजका लागि उत्साहित रहेको र सकेसम्म धेरै खेल जित्ने बताए।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध कायम भएको ७५औं वर्षगाँठको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।
‘अमेरिकामा हुने लिग–२ का लागि उत्साहित छु। सकेसम्म धेरै खेल जित्ने प्रयास गर्छौं’, सन्दीपले भने।
२५ जेठदेखि १ असारसम्म अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ। जसमा नेपालले दुवै टिमसँग २/२ खेल खेल्नेछ।
यसअघि यि तीन टिमले नेपालमा एकदिवसिय खेलेका थिए। यस्तै, २०२१ मा यि तीन टिमले ओमानमा खेलेका थिए।
प्रशिक्षक पुबुदु दासानायकेले आफू नेपाल र अमेरिका दुवै टिमको प्रशिक्षक रहिसकेको बताउँदै नेपालको लागि यो राम्रो अवसर हुने बताए।
‘लिग–२ सन् २०२३ को विश्वकपको छनोटको आधार हो। हामी मुख्य प्रतियोगिताभन्दा अघि जान्छौं। म अमेरिकाका लागिसमेत प्रशिक्षक भइसकेको छु। त्यसैले अमेरिकामा हुने लिग–२ का लागि उत्साहित छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।