काठमाडौं– टिम डेभिडलाई आफ्नो पहिलो बलमा ऋषभ पन्तले क्याच आउट गरे। उनको ब्याटले छोएको बल विकेटको पछाडि गयो। त्यतिबेला मुम्बई इन्डियन्सलाई जितका लागि ३३ बलमा ६५ रन आवश्यक थियो।
अम्पायर तपन शर्माले ब्याटबाट किनारा लागेको अनुमान लगाउन सकेनन्। पन्तले अपिल गरे पनि रिभ्यू नलिने निर्णय गरे।
त्यसपछि डेभिडले अर्को १० बलमा ३४ रन बनाए र खेल पूर्णतया मुम्बईको पक्षमा गयो। दिल्लीले रिभ्यू नलिँदा थप १७ रन खर्चिन परेको थियो।
यदि पन्तले रिभ्यू लिएको भए डेभिडले अर्को १० बलमा १७ रन मात्रै बनाउने थिए। तर, मुम्बईले ५ बल बाँकी रहँदै खेल जितेर दिल्लीलाई प्लेअफबाट बाहिरिने बाटो देखायो।
खेलपछि स्टार स्पोर्ट्स ब्रोडकास्टरसँग कुरा गर्दै पन्तले भने, ‘सर्कलका सबै खेलाडी पूर्णरूपमा सन्तुष्ट थिएनन्, त्यसैले मैले उनीहरूलाई रिभ्यूका लागि जाने कि नजाने भनेर सोधेको थिएँ। र, अन्त्यमा मैले रिभ्यू नलिने निर्णय गरेँ।’
तर, दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ आफ्नो क्याम्पको हारको लागि यही घटनालाई जिम्मेवार ठहराउने पक्षमा छैनन्।
खेल पछिको पत्रकार सम्मेलनमा उनले भने, ‘खेलको एउटा पक्षमा मात्रै औंला उठाउन सधैं गाह्रो हुन्छ। हाम्रो शीर्षक्रम पूर्णरूपमा असफल भएको छ। हामीले चार खेल हारेका थियौं। ३० वा ४० रनमा विकेट लिनु कुनै पनि हिसाबले टी२० मा राम्रो सुरुआत होइन, त्यो पनि निर्णायक खेलमा।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।