काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को लिग चरणबाट बाहिरिए पनि अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी युवा खेलाडीको प्रदर्शनलाई लिएर निकै उत्साहित छन्।
प्लेअफको दौडबाट बाहिरिएपछि चेन्नईले अन्तिम दुई खेलमा आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेको थियो। लसिथ मालिंगा जस्तै बलिङ गर्ने श्रीलंकाका मथिशा पाथिरानासहित लेग स्पिनर प्रशान्त सोलंकी र नारायण जगदीसनलाई चेन्नाईले मौका दिएको थियो।
गुजरात टाइटन्सविरुद्धको आईपीएल डेब्यू गरेका उनले २४ रन दिएर दुई विकेट लिएका थिए। पाथिरानालाई राजस्थान रोयल्सविरुद्ध मध्य र डेथ ओभरमा बलिङ गर्ने जिम्मेवारी दिइएको थियो। विकेट नलिएपनि उनी र बायाँ हाते फास्ट बलर मुकेश चौधरी अर्को सिजनमा मुख्य भूमिका देखिने धोनी बताउँछन्।
धोनीले यी युवा खेलाडीको बारे भने, ‘मलाई लाग्छ कि उनीहरुले खेल्न पाएका खेलहरूमा धेरै कुरा सिके। सबैभन्दा ठूलो उदाहरण मुकेश थिए, जसले सबै (१३) खेल खेले। उनले आफ्नो खेलमा सुधार गरे। पहिलो खेलदेखि अन्तिमसम्म र अहिले उनी डेथ ओभरमा बलिङ गरिरहेका छन्। यी सबै खेलबाट उनले सिकेका छन् र बुझेका छन् हामी उनीबाट के अपेक्षा गर्छौं।’
पाथिराना त्यस्ता खेलाडी हुन्, जसमाथि चेन्नईको लामो समयदेखि नजर छ। आईपीएल अघि पाथिराना र महिश थिक्षानालाई चेन्नईको नेटमा बलिङ गर्न आमन्त्रित गरिएको थियो। तर, त्यतिबेला बंगलादेश भ्रमण र श्रीलंकाको घरेलु प्रतियोगिता खेलिरहेकाले श्रीलंका क्रिकेटले उनलाई पठाएन। एडम मिल्ने चोटका कारण आईपीएल २०२२ बाट बाहिर हुँदा चेन्नईले पाथिरानालाई मुख्य टोलीमा समावेश गरेको थियो।
जुनियर मालिंगाको तारिफ गर्दै धोनीले भने, ‘हाम्रो मालिंगा धेरै राम्रो छ। उसलाई बुझ्न त्यति सजिलो छैन र मलाई लाग्छ उसले अर्को वर्ष हाम्रो लागि महत्वपूर्ण योगदान गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।