काठमाडौं– भ्रमणकारी टोली युगान्डाले नेपालविरुद्धको महिला टी२० आई सिरिज जितेको छ।
बिहीबार तेस्रो टी२०मा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगाबै सिरिज जितेको हो। यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३-० को अग्रता बनाएको छ।
नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। युगान्डाकी केभिन विनोले अविजित रहँदै सर्वाधिक ४२ रन बनाइन्।
उनले ५१ बलमा ४ चौका प्रहार गरिन्। यता, जेनेट बाबाजीले ३९ बलमा १ चौका र १ छक्कासहित२७ रन जोडिन्। युगान्डाका अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका लागि कविता कुँवरले २ विकेट लिइन्। यता, रुविना क्षेत्री र इन्दु वर्माले १/१ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन्।
उनले ५४ बलमा ५ चौका प्रहार गरिन्। उनको यो टी२० आई करिअरमा सर्वाधिक रन हो।
यस्तै, कप्तान रुविना क्षेत्रीले १५ बलमा २ चौकासहित १८ रन बनाइन्। सिता राना मगरले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
युगान्डाका लागि फिओना कुलुमे, सारा अकिटेंक र कोन्सी एविकोले २/२ विकेट लिइन्। रिता मुसामालीले १ विकेट हात पारिन्।
पहिलो पटक घरेलु मैदानमा टी२० आई सिरिज खेलिरहेको नेपालको यो लगातार तेस्रो हार हो। नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो। यस्तै, दोस्रोमा नेपाल १ विकेटले पराजित भएको थियो।
अब नेपालले युगान्डासँग चौथौ खेल शुक्रबार र अन्तिम खेल शनिबार खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।