काठमाडौं– भ्रमणकारी टोली युगान्डाविरुद्धको ५ टी२० आई सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो हार बेहोरेको छ।
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको हो। नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो।
युगान्डाको जितमा रिता मुसामालीले सर्वाधिक ३० रन बनाइन्। उनले ३४ बलमा ३ चौका प्रहार गरिन्।
यस्तै, फ्रान्कलिन नाजुम्बाले २८ बलमा १ चौकासहित १९ रन जोडिन्। जनेट बाबाजीले १६ रन जोडिन्।
नेपालकी कविता कुँवर र शबनम राईले २/२ विकेट लिइन्। यस्तै, सिता राना मगर र रुबिना क्षेत्रीले १/१ विकेट हात पारिन्।
त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन जोडिन्। उनले ३६ बलमा २ चौका प्रहार गरिन्। यता, सरिता मगरले २७ बलमा २ चौकासहित २२ रन बनाइन्।
डोली भट्ट १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री ९ रनमा अविजित रहिन्।
युगान्डाकी जनेट बाबाजीले सर्वाधिक २ विकेट लिइन्। रिता मुसामाली, कोन्सी वेको र एन्यिपोले १/१ विकेट लिइन्।
यस जितसँगै युगान्डाले ५ खेलको टी२० आई सिरिजमा २-० को अग्रता बनाएको छ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।