काठमाडाैं-‘अस्ट्रेलियामा धेरैजसो मानिसहरूले मलाई घृणा गर्छन्। यद्यपि, मलाई आशा छ प्रत्येक पटक फर्केर आउँदा सम्मान पाउने छु। एक दिन म सबैको मन जित्नेछु।’
सन् २०१९ मा पहिलो पटक मिचेल मार्सले टेस्ट म्याचको एक इनिङ्समा पाँच विकेट लिएपछि यस्तो बताएका हुन्। यो खुसीको क्षण हुनु पर्ने थियो, तर एक दशकसम्म आफ्नो प्रतिभा अनुसार खेल प्रदर्शन नसक्नुको तथ्यले उनलाई स्तब्ध बनाएको छ।
मार्सले सन् २०१० मा पहिलो यू–१९ विश्वकप र त्यसपछि इन्डियन प्रिमियर लिग (आईपीएल)मा डेक्कन चार्जर्सबाट खेल्दा सबैलाई प्रभावित पारे। डेक्कन चार्जर्स भारतको हैदरावाद सहरको फ्रेन्चाइजी क्रिकेट टिम थियो।
त्यसबेलाको डिफेन्डिङ च्याम्पियन टोलीका कप्तान एडम गिलक्रिस्टले मार्सको प्रशंसा गर्दै उनलाई ‘परफेक्ट प्याकेज’ भनेका थिए।
गिलक्रिस्टलाई कहाँ थाहा थियो र पर्थका यी प्रतिभाशाली युवकले १२ वर्षमा आईपीएल मात्र २७ खेल खेल्नेछन्। अझ के हो भने, उनले अक्टोबर २०११ मा डेब्यू गरेपछि मात्र ३६ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। तर, उनले फिनिसरको रूपमा पुनरागमन गर्न सकेनन्।
तीन नम्बरको ब्याट्सम्यानको रूपमा पुनरागमन गरेका उनले गत वर्ष अस्ट्रेलियालाई पहिलो टी२० विश्वकपको उपाधि दिलाए।
विश्वकपको फाइनलमा आफ्नो उम्दा प्रतिभा देखाएका उनले झण्डै ६ महिनापछि फेरि आफ्नो क्लास देखाए।
विश्वकप फाइनलको त्यो इनिङ्सजस्तै बुधबार पनि उनले सुरुमा संघर्ष गरे र अन्त्यमा टोलीलाई जित दिलाए।
राजस्थान रोयल्सविरुद्धको खेल फाइनल थिएन, तर फाइनलभन्दा कम थिएन। दिल्ली क्यापिटल्सले प्लेअफको आशा जीवित राख्न कठिन पिचमा १६१ रनको लक्ष्य पछ्याएको थियो। साढे ६ करोडमा किनिएका मार्स पहिलो ओभरमा नै टिमले खाता नखोल्दा क्रिजमा आएका थिए। त्यसपछिका दुई ओभरमा विपक्षी बलरहरूले सटिक लाइन, लम्बाइ र स्विङले उनलाई समस्यामा पारे।
उनको र उनको टोलीको सिजन यी २० ओभरमा निर्भर थियो। प्रसिद्ध कृष्णले उनलाई निक्कै समस्यामा पारे। तर, उनले आफ्नो सन्तुलन नगुमाई मेडेन ओभर खेले।
तेस्रो ओभरमा ट्रेन्ट बोल्टको इन–स्विङ योर्कर स्टम्पको अगाडि जुत्तामा लाग्दा मार्सलाई भाग्यले साथ दियो। राजस्थानले अपिल गरेको थियो। जसलाई अम्पायरले अस्वीकार गरे।
मार्स त्यो बेला ९ बलमा एक रन बनाएर खेल्दै थिए। स्क्रिनमा रिप्ले देख्नेबित्तिकै उनको अनुहारमा हल्का मुस्कान छायो।
खेलपछि मार्सले भने, ‘यो मेरो टी२० करिअरको सबैभन्दा कठिन पावरप्ले मध्ये एक थियो। हामीले त्यहाँबाट सुरक्षित रूपमा बाहिर निस्कनु पर्ने थियो। यदि तपाईंले दुई वा तीन विकेट गुमाउनु भएको भए निक्कै गाह्रो हुन्थ्यो। हामीले रनको बारेमा नसोची पावरप्लेमा विकेट बचाउने प्रयास गर्नुपर्छ भनेर मूल्याङ्कन गर्यौं।’
उनले थपे,‘सबै श्रेय राजस्थानलाई जान्छ। उनीहरूले पावरप्लेमा घातक बलिङ गरे र हामीलाई समस्यामा पारे। १६० रनको लक्ष्य पछ्याउँदा तपाईंलाई ठूलो साझेदारी चाहिन्छ र त्यसमा हाम्रो फोकस थियो। पछिल्ला १८ महिनामा वार्नरसँग ब्याटिङ गर्दै आएको छु। हामीले केही राम्रो खेल्यौं र दिल्लीका लागि अविस्मरणीय साझेदारी गर्यौं।’
यद्यपि, यो त्यति सजिलो थिएन। मार्सले ट्रेन्ड बोल्टको स्विङ बलबाट बच्न लेग स्टम्प बाहिर बलहरू प्रहार गरे।
सेट अप भएपछि मार्सले सबै बलरलाई आफ्नो शिकार बनाए। चाहे त्यो स्विङका सरताज बोल्ट होस्,या चर्चित मेडेन थ्रोर। उनले पर्पल क्याप म्यान युजवेन्द्र चहललाई समेत छाडेनन्।
मार्सले टोलीलाई जित दिलाउन अन्तिम बलसम्म खेल्न सकेनन्। १८ औं ओभरमा पेभिलियन फर्किएका उनले ६३ बलमा ८९ रन बनाए, र दिल्लीलाई जितनजिक पुर्याए। मैदानबाट बाहिर निस्कँदा उनले सबैलाई फेरि सम्झाए– करिअर समाप्त भएको छैन। कम्तिमा केही वर्षको लागि हल्का लिन सकिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।