काठमाडौं- करङको चोटका कारण चेन्नई सुपर किंग्सका अलराउन्डर रविन्द्र जडेजाले इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनका बाँकी खेल गुमाउने भएका छन्।
सिजनको मध्यमा चेन्नईको कप्तानी त्यागेका जडेजा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा क्याच लिने क्रममा घाइते भएका थिए। जडेजाले त्यो खेल पूरा खेलेका थिए। तर, दिल्ली क्यापिटल्सविरुद्धको खेलमा उनी बेन्चमा बस्न बाध्य भए।
चेन्नईका सीईओ काशी विश्वनाथनले भने,‘उहाँलाई करङमा चोट लागेको छ र अहिले चिकित्सकको सल्लाह अनुसार आरामको आवश्यकता छ। त्यसैले उहाँलाई आईपीएलबाट बाहिर राख्ने निर्णय गरिएको छ।’
सन् २०१२ को आईपीएल सिजनदेखि चेन्नईका लागि खेलिरहेका जडेजाले चेन्नईमा खेल गुमाउनु परेको यो दोस्रो पटक मात्र हो। यसअघि उनी २०१९ मा मुम्बई इन्डियन्सविरुद्धको खेलबाट बाहिरिएका थिए।
महेन्द्र सिंह धोनी पनि त्यो खेलमा चेन्नईको हिस्सा थिएनन्। जडेजा अहिले आफ्नो करिअरको चुनौतीपूर्ण चरणबाट गुज्रिरहेका छन्। सिजन सुरु हुनु दुई दिनअघि जडेजालाई टोलीको कमाण्ड दिइएको थियो।
तर, उनको नेतृत्वमा यस सिजन टोलीले प्रारम्भिक खेलहरूमा राम्रो प्रदर्शन गर्न सकेन। जडेजाले टोलीको प्रदर्शन खस्किँदै गएपछि सिजनको बीचमा कप्तानी त्यागेका थिए। उनको कप्तानीमा चेन्नईले ८ मध्ये २ खेल मात्र जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।