काठमाडौं- भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक रवि शास्त्रीले रवीन्द्र जडेजा प्राकृतिक कप्तान नभएको बताएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को पहिलो हाफमा चेन्नई सुपर किंग्सको नेतृत्व गर्दा जडेजा पानीबिनाको माछा जस्तो असहज देखिएको उनले बताए।
उनले भने, ‘जडेजा प्राकृतिक कप्तान होइनन् र यसअघि उनले कप्तानी पनि गरेका थिएनन्। त्यसैले उनलाई यो जिम्मेवारी दिनु अलि कठोर पनि थियो। उनी पानीबिनाको माछा जस्तै देखिन्थे। उनको लागि खेलाडी मात्रै रहनु राम्रो हो। अलराउन्डरमा उनी विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा परेका छन् र यसैमा ध्यान दिनुपर्छ।’
शास्त्रीले उनको स्थानमा पुन: कप्तानी जिम्मेवारीमा फर्किएका महेन्द्र सिंह धोनी फिट रहेको पनि बताए। अर्को वर्ष पनि धोनीलाई नै चेन्नईको जिम्मेवारी दिनुपर्ने उनको तर्क छ।
यस सिजनमा प्रारम्भिक खेलहरूमा टोलीको प्रदर्शन निकै कमजोर थियो। जडेजाले टोलीको प्रदर्शन खस्किँदै गएपछि सिजनको बीचमा कप्तानी त्यागेका थिए। उनको कप्तानीमा चेन्नईले ८ मध्ये २ खेल मात्र जितेको थियो।
त्यसपछि धोनीले फेरि एकपटक टोलीको कमाण्ड सम्हालेका छन्। उनले कप्तानी सम्हालेपछि टोलीले ३ मध्ये १ खेलमा हार बेहोरेको छ, २ खेलमा शानदार जित हात पारेको छ।
धोनीको कप्तानीमा चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको थियो र त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरसँग सोही रनले हारेको थियो।
त्यसपछि दिल्लीलाई चेन्नईले ९१ रनको ठूलो अन्तरले पराजित गर्यो। अंक तालिकामा ११ खेलपछि चेन्नईले ४ जितसहित ८ अंक जोडेको छ। चेन्नई अंक तालिकाको आठौं स्थानमा छ।
‘चेन्नईले अर्को वर्ष मिनी अक्सनमा नयाँ कप्तान टोलीमा ल्याउनुपर्छ। किनकि रोयल च्यालेन्जर्स बैंग्लोरले यस वर्ष फाफ डु प्लेसिसलाई जिम्मेवारी सुम्पेको छ। चेन्नईलाई कप्तानी दिन कुनै हतार छैन र उत्कृष्ट ब्याट्सम्यानलाई कप्तानी दिनु पनि हुन्न,’ शास्त्रीले भने।
ऋतुराज गायकवाडलाई चेन्नईको अबको कप्तानको रुपमा हेरिएको छ। उनले आफ्नो टोली महाराष्ट्रलाई घरेलु क्रिकेटमा पाँच एकदिवसीय र पाँच टी२० खेलमा कप्तानी गरेका थिए। यी सबै खेलहरू २०२१–२२ सिजनका थिए।
२०२० सिजनमा चेन्नईका लागि आईपीएल डेब्यू गरेपछि गायकवाडले यति धेरै प्रभावित भए कि यो वर्ष उनलाई धोनी, जडेजा र मोइन अली जस्ता दिग्गज खेलाडीसँग दाजिँदै आएको छ।
शास्त्री कप्तान बनाउँदा धेरै सोचविचार गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘तपाईंले त्यो खेलाडी कहाँबाट आएको हो र कुन स्तरको क्रिकेट खेलेको छ हेर्नु पर्छ। के उसले पहिले कप्तान गरेको छ? के उसमा कप्तानीको गुणस्तर छ? तपाईंले यो सबै हेर्नु पर्छ र जाँच्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।