काठमाडौं– घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्धको अन्तिम तथा तेस्रो अभ्यास खेलमा जित निकालेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो। जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
योसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेल २–१ ले जितेको छ। पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए। उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।
यस्तै, मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले ४३ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए।
अर्का ओपनर आसिफ शेखले ३७ बलमा २ चौका र १ छक्कासहित २९ बनाए। कुशल र आसिफबीच पहिलो विकेटको लागि ७३ रनको साझेदारी भएको थियो।
जिम्बावेका लागि ब्रेन्डन माभुताले सर्वाधिक ३ विकेट लिए। उनले ६ ओभरमा ४६ रन खर्चिए।
यता, विनोद भण्डारी २६ बलमा ३ चौकासहित २८ रनमा अविजित रहे।
यता, ब्राडली इभान्सले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ३२.१ ओभरमा सबै विकेट गुमाएर रन २१३ बनाएको थियो।
आइतबार रातिको वर्षका कारण आउटफिल्ड भिजेपछि खेल ५० ओभरबाट ३३ ओभरमा झारिएको थियो।
जिम्बावेका लागि तादिवानाशे मारुमनीले सर्वाधिक ५० रन बनाए। उनले ३१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
यता, कुडजाई माउन्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाए। रोय काइयाले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रन बनाए।
यस्तै, टोनी मुन्योंगाले २४, ल्यूक जोङ्गवेले १९, सेफस झुवाओलेले १६ र इनोसेन्ट काइयाले १२ रन बनाए।
नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए। उनले ७ ओभर बलिङ गर्दै १ मेडनसहित ४३ रन खर्चिए।
यता, सोमपाल कामीले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।