काठमाडौं– घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीचको अन्तिम तथा तेस्रो एकदिवसीय अभ्यास खेलको टस ढिला हुने भएको छ।
खेल कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान ९:३० सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि ९ बजे हुनुपर्ने टस अझै भएको छैन। कीर्तिपुर क्षेत्रमा शनिबार बेलुका वर्षा भएको थियो।
म्याच रेफ्री र अम्पायरले ९:३० बजे मैदान निरीक्षण गरेका थिए। तर, आउटफिल्डमा सुधार नदेखिएपछि उनीहरु मैदानबाट बाहिरिएका छन्।
टस ढिला हुने भएपछि केही खेलाडी मैदानमा फुटबल खेलिरहेका छन्। यता, केही खेलाडी भने मैदान बाहिर रहेका छन्।
अहिले कीर्तिपुर क्षेत्रमा घाम लागिरहेको छ। म्याच रेफ्री र आम्पायरले केहीबेर आउटफिल्डलाई सुकाएर टस गराउने निर्णय गरेका छन्। अब उनीहरुले १० : १५ मा मैदानको निरीक्षण गर्नेछन्।
तीन एक दिवसीय अभ्यास खेल १–१ को बराबरीमा छ। पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो। यस खेल जित्ने टोलीले अभ्यास सिरिज पनि जित्नेछ। दुवै टोली जितका साथ अभ्यास अन्त्य गर्न चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।