काठमाडाैं-स्पिनर वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादमाथि सानदार जित निकालेको छ। आइतबार साँझ सम्पन्न खेलमा बैंग्लोरले हैदराबादलाई ६७ रनले पराजित गरेको हो।
जितका लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १ सय २५ रनमा अलआउट भयो। हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ५८ रनको इनिङ्स खेले। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यता, एडेन माक्ररम २१ र निकोलस पुरन १९ रनमा आउट भए। अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। बैंग्लोरका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए।
यता, जोश हेजलवुडले २, ग्लेन म्याक्सवेल र हर्षल पटेलले १–१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनायो।
बैंग्लोरका लागि फाफ डु प्लेसिस सर्वाधिक ७३ रनमा अविजित रहे। उनले ५० बलमा ८ चौका र २ छक्का प्रहार गरे।
यता, राजत पाटिदर ३८ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । ग्लेन म्याक्सवेले ३३ रन बनाउँदा दिनेश कार्तिक ३० रनमा अविजित रहे। हैदराबादका जगदीश सुचिथले २ र कार्तिक त्यागीले १ विकेट लिए।
बैंग्लोर १२ खेलमा ७ जित र ५ हारसहित १४ अंकका साथ चौथो स्थानमा छ। हैदराबाद ११ खेलमा ५ जित र ६ हारसहित छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।