काठमाडौं– मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउने सुरुङ बन्द गर्ने भएको छ। दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो।
हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ। गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ। वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ।
गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गरेका थिए। पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरु भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो।
गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो। उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो। सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन।
अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन । आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन। दातृ निकाय एशियाली विकास बैंक (एडिबी)ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।