काठमाडौं– तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको कसिलो बलिङ गरेसँगै घरेलु टोली नेपालले भ्रमणकारी जिम्बावे ‘ए’विरुद्ध सानदार जित निकालेको छ।
शनिबार सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले पराजित गरेको हो। जिम्बावेले दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाएर ८९ रन बनायो।
नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए। उनले ३८ बलमा ४ चौका प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३१ बलमा ६ चौकासहित अविजित रहँदै ३४ रनको इनिङ्स खेले।
यता, विनोद भण्डारीले अविजित रहँदै ४ रन बनाए। जिम्बावेका लागि ब्रेन्डन माभुताले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले ३१.५ ओभरमा सवै विकेट गुमाउँदै ८७ रन बनाएको थियो।
जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए। उनले ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यता, ब्राडली इभान्सले अविजित रहँदै ३५ बलमा १ चौका र १ छक्कासहित २० प्रहार गरे। सेफस झुवाओलेले १० रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि सोमपाल र करणले ३/३ विकेट लिए। करणले ८ ओभरमा ३ मेडनसहित १७ रन दिए। यता, सोमपालले ७ ओभरमा १६ रन दिएर ३ विकेट लिए।
सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए। योसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा १–१ को बराबरी गरेको छ। शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको थियो। अब तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।