काठमाडौं–आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेश्रो पटक टियु बिबिए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी( केसीएमआईटी) लाई १२ रनले पराजित गर्यो। पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटीले पुरै २० ओभर ब्याटिङ गरे पनि ८ विकेट क्षतिमा १३७ रन मात्र बनायो।
केसीएमआईटीको ब्याटिंगमा सुवास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित अमित मरहट्टाले ३१ रन बनाए। पब्लिक युथका बलर दिवस भट्टराई र सुशान्त सिंहले २–२ विकेट तथा रविन साउद र सुबोध लामिछानेले १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पब्लिक युथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो।
पब्लिक युथको ब्याटिंगमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए। त्यसक्रममा उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनील थापाले १५ रन बनाए। केसीएमआईटीका बलर सक्षम उप्रेती, सुवास सापकोटा र सवन भण्डारीले १–१ विकेट लिए।
प्रतियोगिताको उत्कृस्ट खेलाडी पब्लिक युथका रविन साउद घोषित भए। यस्तै उत्कृस्ट बलर पब्लिक युथका दिवस भट्टराई र उत्कृस्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए।
उपाधिसँगै पब्लिक युथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटीले ३५ हजार रुपैयाँ प्राप्त गर्यो। विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहले पुरस्कार वितरण गरे।
म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयका १८ क्याम्पस सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।