काठमाडौं– भ्रमणकारी टोली जिम्बावे ‘ए’ले पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको छ।
शुक्रबार भएको खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले पराजित गरेको हो।
नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
जिम्बावेका लागि इनोसेन्ट काइयाले अविजित रहँदै सर्वाधिक ४८ रन जोडे। उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यता, सेफस झुवाओलेले २९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए। रोय काइयाले १४ रन बनाउँदा ब्राडली इभान्सले अविजित १७ रनको इनिङ्स खेले। जिम्बावेका अन्य ब्याटरले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए। यता, सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्को निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। उनले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, करण केसीले ३६ बलमा ३ चौकासहित २५ रन बनाए।
मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले २० बलमा ३ चौकासहित १८ रन बनाए। यस्तै, ओपनर कुशल भुर्तेल १९ रन बनाउँदा अन्य ब्याटरे भने दोहोरो अंक छुन सकेनन्।
जिम्बावेका लागि ब्राडली इभान्सले सर्वाधिक ३ विकेट लिए। उनले ८ ओभरमा २७ रन खर्चिए। यता, भिक्टर न्याउची, ब्रेन्डन माभुता र सेफस झुवाओले २/२ विकेट लिए।
नेपालले अब शनिबार जिम्बावेसँग दोस्रो खेल खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।