काठमाडौं– रोयल च्यालेन्जर्स बैंग्लोरका ब्याटर विराट कोहली लगातार स्पिन बलरविरुद्ध रन बनाउन संघर्ष गरिरहेका छन्। यो सिजन कोहलीको ब्याटबाट एउटा मात्र अर्धशतक प्रहार भएको छ। यस अवधिमा उनको स्ट्राइक रेट पनि १११.०९ मात्रै छ।
बुधबार चेन्नई सुपर किंग्सविरुद्धको खेलको १०औं ओभरमा मोइन अलीको ‘अफ ब्रेक’मा कोहली ‘लङ ड्राइभ’मा आउट भए। उनी त्यतिबेला ३० रनको व्यक्तिगत स्कोरमा खेलिरहेका थिए। गत वर्ष चेन्नई टेस्टमा पनि कोहलीलाई मोइनले यस्तै शैलीमा आउट गरेका थिए।
कोहलीले बुधबार कुल १६ डट बल खेले। तर, अनक्याप्ड खेलाडी रजत पाटीदार र महिपाल लोमरोरले मिलेर ६३ रन बनाउँदा बैंग्लोरले चेन्नईसामू १७३ रनको स्कोर बनायो। र, जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो। र, १३ रनले पराजित भयो।
तर, क्रिकेट जगतमा बैंग्लोरको जितभन्दा कोहलीको सुस्त सुरुवातको चर्चा भयो। कोहलीको सुस्त सुरुवातको बावजुद बैंग्लोरले यो सिजनको उत्कृष्ट सुरुवात गरेको थियो। पावरप्लेमा उनले ५७ रन बनाए। यद्यपि, उनी यस सिजन पावरप्लेमा सबैभन्दा कम स्कोरिङ रेट ९६.५८० स्कोर गर्ने टोलीमा थिए।
वेस्ट इन्डिजका पूर्वखेलाडी इयान बिशप भन्छन्, ‘केही समयदेखि कोहली सुस्त गतिमा देख्दै आएका छौं, यो सिजन मात्र होइन। हामीले उनलाई टेस्ट म्याचमा पनि अफ स्पिनरले आउट गरेको देखेका छौं। त्यसैले कोहलीको फ्यान भएकोले म धेरै चिन्तित छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।