काठमाडौं- घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’सँगको अन्तिम टी२० अभ्यास खेलमा सानदार जित निकालेको छ।
बुधबार भएको अन्तिम खेलमा जिम्बावेलाई ८ विकेटले पराजित गर्दै नेपालले जित निकालेको हो।
जिम्बावेले दिएको १३७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा १३८ रन बनायो।
नेपालका ओपनर लागि आशिफ शेखले अविजित रहँदै सर्वाधिक ८७ रनको इनिङ्स खेले। उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरे।
यता, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए। यस्तै, बसिर अहमदले १० रन बनाए।
जिम्बावेका लागि ल्यूक जोङ्गवे र ब्रेन्डन माभुताले समान १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।
जिम्बावेका लागि रोय काइयाले सर्वाधिक ४९ रन बनाए। उनले ४१ बलमा ७ चौका प्रहार गरे।
यता, तादिवानाशे मारुमनीले ३० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए।
ल्यूक जोङ्गवेले अविजित २३ रन बनाउँदा इनोसेन्ट काइयाले १४ रन बनाए। जिम्बावेका अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। यता सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए।
तीन टी२० अभ्यास खेल अन्तरगत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। यस्तै, सोमबारको दोस्रो खेल वर्षाको कारण स्थगित भएको थियो। अब नेपालले भ्रमणकारी टोली जिम्बावेसँग तीन एकदिवसीय अभ्यास खेल खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।