काठमाडौं– काठमाडौंस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीले देशभर क्रिकेट प्रशिक्षण क्याम्प र प्रतिभा खोजी ( ट्यालेन्ट हन्ट ) कार्यक्रम गर्ने भएको छ।
पिनाकल कलेजको प्रायोजनमा एकेडेमीले वैशाख २१ गते बुधबारदेखि वैशाख २७ गतेसम्म पहिलो चरणमा प्रदेश नम्बर-१, मधेस प्रदेश र बागमती प्रदेशका विभिन्न सहरमा कार्यक्रम गर्नेछ। वैशाख २१ गते झापा र विराटनगरमा, २२ गते राजविराजमा, २३ गते लाहान र जनकपुरमा, २४ गते मलंगवामा, २५ गते गौरमा, २६ गते कलैया र वीरगञ्जमा तथा २७ गते हेटौंडामा कार्यक्रम हुनेछ।
त्यसपछि दोस्रो चरणमा पश्चिम क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनेछ। जेठ २ गतेदेखि सुरु हुने दोश्रो चरणमा धादिङ, नुवाकोट, चितवन, तनहुँ, पोखरा, स्याङ्गजा, नवलपुर, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, बर्दिया, धनगढी र महेन्द्रनगरमा कार्यक्रम आयोजना हुनेछ।
एकेडेमीका नवनियुक्त श्रीलंकन प्रशिक्षक मिहिराज वसन्था जयसेकराले प्रशिक्षण दिनुको साथै प्रतिभा पहिचानसमेत गर्नेछन्। मिहिराज आईसीसीको लेभल-३ प्रशिक्षक हुन्। १५ वर्षदेखि प्रशिक्षण गर्दै आएका मिहिराज श्रीलंकन महिला क्रिकेट टिमको सहायक प्रशिक्षक रहिसकेका छन् भने भारतको चेन्नाईमा प्रशिक्षक डेभ ह्वाटमोरसँगै चेन्नाई सेन्टर अफ स्पोर्ट्स साइन्समा काम गरिसकेको अनुभव छ। मिहिराजले श्रीलंका, युएई, भारत र इंग्ल्यान्डमा काम गरिसकेका छन्।
‘ग्रेट हिमालय क्रिकेट एकेडेमीमा हाल स्तरीय विदेशी प्रशिक्षक मिहिराज वसन्था नियमित प्रशिक्षक छन्। उनी यहाँ भएको अवसरमा देशभरिको क्रिकेटरलाई प्रशिक्षण र प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेका हौं,’ एकेडेमीका निर्देशक सुदीप शर्माले बताए, ‘आशा छ यो कार्यक्रमले लुकेर रहेका प्रतिभाहरु बाहिर आउनेछन् जसलाई ग्रेट हिमालय क्रिकेट एकेडेमी र पिनाकल कलेजले छात्रवृत्ति प्रदान गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।