काठमाडौं– घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीचको दोस्रो टी२० खेल वर्षाका कारण रद्द भएको छ।
नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्वको तीन टी२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो।
तर, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले पाँचौ ओभर बलिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको थियो।
करिब ५० मिनेट ५५ मिनेट खेल रोकिएपछि दुई दुई ओभर घटाएर दिउँसो २:२० मा पुन: सुरु गर्ने भनिएको थियो। तर, पुन: वर्षा सुरु भएपछि म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनयकुमार झाको टोलीले २:५० मा मैदान निरीक्षण गर्दै खेल रद्द भएको जानकारी दिएका हुन्।
जिम्बावेले ४.३ ओभरमा दुई विकेट गुमाउँदै ४८ रन बनाएको थियो। कुडजाई माउन्जे २२ रनमा अविजित रहेका थिए। यस्तै, रोय काइया १ रनमा अविजित रहेका थिए।
यता, तादिवानाशे मारुमनी २१ र इनोसेन्ट काइया शून्य आउट भएका थिए। आइतबार नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।