काठमाडौं– इन्डिय प्रिमियर लिग (आईपीएल)को ४६औं खेलमा दिल्ली क्यापिटल्सविरुद्ध लखनऊ सुपर जायन्ट्सका फास्ट बलर मोहसिन खानले अचम्मको प्रदर्शन गर्दै चार विकेट लिए। यो खेल जिताउन उत्कृष्ट प्रदर्शनका गरेका उनी ‘प्लेयर अफ द म्याच’ घोषित पनि भए। उनले दुई दिनअघि शुक्रबार पञ्जाब किंग्सविरुद्धको खेलमा पनि तीन विकेट लिएका थिए।
बायाँ हाते फास्ट बलर मोहसिनले आफ्नो गति र विविधताले यो सिजन आईपीएलमा सबैलाई प्रभावित पारेका छन्। मोहसिनसँग लगातार १४० किलोमिटर प्रतिघण्टाको गतिमा बल डेलिभर गर्ने क्षमता छ। उनले बायाँ हातको विभिन्न कोणबाट पनि ब्याट्सम्यानलाई समस्यामा पारिरहेका छन्।
मोहसिनको जन्म पूर्वी उत्तर प्रदेशको एउटा सानो जिल्ला सन्त कबीर नगरमा भएको थियो। उनका बुबा प्रहरी विभागमा कार्यरत छन्। त्यसैले उनको जीवनको अधिकांश समय पश्चिमी उत्तर प्रदेशमा बित्यो। उनी मुरादाबादमा बसेर अध्ययन र अभ्यास गर्छन्।
२३ वर्षीय बलरले सानैदेखि क्रिकेट खेल्न थालेका थिए। क्लब क्रिकेट खेल्दा उनले उत्तर प्रदेशको अन्डर–१६ र अन्डर–१९ टोलीमा मौका पाए। र, २०१७ मा १९ वर्षको उमेरमा उनले उत्तर प्रदेशको अन्डर–२३ टोलीमा स्थान पाए। तर, त्यसबेला उत्तर प्रदेशको सिनियर टोलीमा मौका भने पाउन सकेनन्।
जनवरी २०१८ मा उनको करिअरले एक्कासी टर्न लियो। उनले सैयद मुश्ताक अली ट्रफीमा उत्तर प्रदेशबाट खेल्ने मौका पाए। उनले उक्त अवसरलाई दुवै हातले सदुपयोग गर्दै ८ खेलमा १५ विकेट लिए। त्यो समय आईपीएलको अक्सन पनि थियो। उनको प्रदर्शन देखेर मुम्बई इन्डियन्सले उनलाई २० लाखको आधार मूल्यमा किन्यो। उनी मुम्बईमा तीन वर्ष बसे। यद्यपि, उनले कहिल्यै खेल्ने मौका पाएनन्।
यस अवधिमा मोहसिन घरेलु क्रिकेटमा आफ्नो बलिङबाट चर्चामा रहे। उनले ३० टी–२० खेलमा १७.६३ को औसत, १५.२ को स्ट्राइक रेट र ६.९५ को इकोनोमीमा ४१ विकेट लिएका छन्। यसबाहेक उनले १७ लिस्ट ‘ए’ खेलमा २६ विकेट लिएका छन्। यस वर्ष उनले जनवरी २०२० मा मध्य प्रदेशविरुद्धको रणजी ट्रफी खेल खेल्दा पहिलो श्रेणीमा डेब्यू गर्ने मौका पनि पाए।
लखनऊको व्यवस्थापन मोहसिनको घरेलु प्रदर्शनबाट प्रभावित भएको थियो। त्यसैले यस वर्ष अक्सन हुँदा यो गुमनाम बलरलाई नयाँ टोलीले २० लाखमा किन्यो। आज यी युवा बलर लखनऊको मुख्य हतियार बनिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।