काठमाडौं– लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दोस्रो स्थानमा उक्लिएको छ।
आइतबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्समाथि ६ रनको जित हात पार्दै लखनऊ दोस्रो स्थानमा उक्लिएको हो। लखनऊले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो।
दिल्लीका ऋषभ पन्त ३० बलमा ७ चौका र १ छक्कासहित ४४ रनमा आउट भए। अक्षर पटेल ४२ रनमा अविजित रहे। उनले २४ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यता, कुलदीप यादव ८ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे।
मिचेल मार्श २० बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए। रोभम्यान पावेल ३५ र शार्दुल ठाकुर १ रनमा आउट भए।
लखनऊका मोहसिन खानले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। दुश्मन्था चामिरा, रवि विश्रोई र कृष्णाप्पा गौथमले १–१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९५ रन बनायो। ओपनर तथा कप्तान लोकेश राहुलले सर्वाधिक ७७ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
दीपक हुडाले ३४ बलमा ६ चौका र १ छक्कसहित ५२ रन जोडे। क्विन्टन डि कक २३, मार्कस स्टोइनिस १७ र क्रुनाल पान्ड्याले ९ रन बनाए। दिल्लीका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए।
जितसँगै लखनऊले १० खेलमा १४ अंक जोडेको छ। दिल्ली ९ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।