काठमाडौं– तीन टी२० सिरिजमा भ्रमणकारी टोली जिम्बावे ‘ए’ले घरेलु टोली नेपालविरुद्ध १-० को अग्रता लिएको छ। आइतबार सम्पन्न पहिलो खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले हराएको हो।
नेपालले दिएको १८२ रनको सामान्य लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। जिम्बावेका लागि तादिवानाशे मारुमनीले सर्वाधिक ५६ रन बनाए। उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
यता, टोनी मुन्योंगाले २३ बलमा ७ छक्कासहित ५० रन बनाए। इनोसेन्ट काइयाले ३० बलमा ९ चौकासहित ४७ रन बनाएर आउट भए। कुडजाई माउन्जे ८ र रोय काइया ६ रनमा अविजित रहे।
नेपालका लागि बसिर अहमदले सर्वाधिक २ विकेट लिए। उनले ३.५ ओभरमा २२ रन खर्चिए। यता, कप्तान सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।
नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रन बनाए। उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रन बनाए। यस्तै, रोहित पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए। मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले १३ बलमा १ चौका र २ छक्कासहित २८ रन बटुले।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन्। आशिफ शेखले ९ र आरिफ शेखले २ रन बनाए।
जिम्बावेका लागि ल्यूक जोङ्गवे, ब्राडली इभान्स, ब्रेन्डन माभुता र जोन मसाराले १/१ विकेट लिए। नेपाल र जिम्बावेबीचको दोस्रो खेल सोमबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।