काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को ४६औं खेल आइतबार साँझ सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच हुँदैछ। बिगतमा चेन्नई हैदरावादमाथि हाबी हुँदै आएको थियो। तर, यस सिजनको पहिलो खेलमा चेन्नईले हैदरावादसँग ८ विकेटको लज्जास्पद हार बेहोरेको थियो।
यो सिजनको तथ्याङ्कले पावरप्लेमा विकेट नगुमाए हैदरावादको जित लगभग निश्चित रहेको बताउँछ। हैदरावादले यो सिजन कुल चार पटक पावरप्लेमा विपक्षी टोलीलाई एक विकेट पनि दिएको छैन। यी चारै खेलमा हैदरावादले जित निकालेको छ। तर, हैदरावादको जित पनि धेरै हदसम्म भुवनेश्वर कुमारको प्रदर्शनमा निर्भर छ। भुवनेश्वरले यस सिजनका दुई खेलमा एक विकेट पनि लिन सकेनन्। उक्त दुवै खेलमा हैदरावादले हारको स्वाद चाखेको छ।
धोनीविरुद्ध भुवनेश्वर
यस सिजन चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले पछिल्ला केही सिजनको तुलनामा राम्रो ब्याटिङ गरेका छन्। हैदरावादका प्रमुख बलर भुवनेश्वर कुमारविरुद्ध उनको कीर्तिमान पनि उत्कृष्ट छ। उनले भुवनेश्वरविरुद्ध टी२० को ११ इनिङ्समा ९४ रन बनाएका छन्।
धोनीले ५७ बलमा १६५ को स्ट्राइक रेटमा रन बटुलेका छन्। भुवनेश्वरले धोनीलाई एकपटक पनि आउट गर्न सकेका छैनन्। योसँगै धोनीले योर्कर किंग टी नटराजनको १० बलमा १९ रन बनाएका छन् भने एक पटक उनी प्याभिलियन फर्किएका छन्।
चेन्नईको ध्यान ब्याटिङमा केन्द्रित
यस सिजन चेन्नईको ब्याटिङ रोलर कोस्टर राइड जस्तै भएको छ। चेन्नईले यो खेल जित्न रोबिन उथप्पा र शिवम दुबेका ब्याट चल्नुपर्छ।
तथ्याङ्कअनुसार यस सिजनमा चेन्नईले जितेका दुवै खेलमा ६५ प्रतिशत रन उथप्पा र दुबेको ब्याटबाट आएको थियो। यस्तो अवस्थामा आइतबारको खेलमा यी दुवै ब्याट्सम्यानले रन बनाउन आवश्यक छ।
यता, पछिल्लो खेलमा अर्धशतक बनाएका अम्बाती रायडुले पनि आफ्नो फर्मलाई निरन्तरता दिनुपर्ने छ।
ब्राभोको भर
हैदरावादका अधिकांश ब्याट्सम्यानविरुद्ध चेन्नईका मिडल पेस बलर ड्वेन ब्राभोको उत्कृष्ट कीर्तिमान छ। यद्यपि, ब्राभोले अभिषेक शर्मा र एडन मार्करामलाई एकपटक पनि आउट गरेका छैनन्। तर, उनीसँग यी दुवै ब्याट्सम्यानलाई बराबरीमा राख्न सक्ने क्षमता छ। अभिषेक शर्माले ब्राभोविरुद्ध २२ बलमा १३२ रन बनाएका छन् भने एडन मार्करामले ब्राभोविरुद्ध टी२० मा २९ बलमा ९७को स्ट्राइक रेटमा २८ रन बनाएका छन्।
ब्राभोले हैदरावादका कप्तान केन विलियम्सन र राहुल त्रिपाठीलाई टी२० मा दुई–दुई पटक आउट गरेका छन्। योसँगै ब्राभोले निकोलस पूरनलाई टी२० मा तीन पटक आफ्नो शिकार बनाएका छन्। यस अर्थमा ब्राभोले हैदरावादका अधिकांश ब्याट्सम्यानलाई समस्यामा पार्छन्। तर, पूरनले पनि ब्राभोविरुद्ध आक्रमक ब्याटिङ गरेका छन्। पूरनले ११ इनिङ्समा ब्राभोको ४२ बलमा १४५ रनको स्ट्राइक रेटमा ६१ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।