काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सबैभन्दा किफायती बलरमध्ये एक हुन् सुनिल नारायण। यो सिजनमा पनि सुनिल शीर्ष स्थानमा छन्। तर, यो सूचीको दोस्रो स्थानमा रहेको नाम सुन्दा भने जो कसैलाई अचम्म लाग्न सक्छ। यो सिजन कम्तीमा १० ओभर बलिङ गर्ने सबैभन्दा किफायती बलरहरूको सूचीमा क्रुणाल पाण्ड्या दोस्रो स्थानमा छन्। उनले ६.१८ को इकोनोमीमा बलिङ गरेका छन्।
२०१९ र २०२० सिजनमा मुम्बई इन्डियन्सको टोलीले क्रुणाललाई पाँचौं बलरको रूपमा किरोन पोलार्डसँग प्रयोग गरेको थियो। गत वर्ष उनको बलिङको लय खस्किएको थियो। त्यसपछि उनले आफ्नो बलिङमा ६ देखि ८ महिनासम्म कडा मिहिनत गरे। यसले उनलाई राम्रो नतिजा पनि दिरहेको छ।
पञ्जाब किंग्सका ब्याट्सम्यानले यो सिजन बायाँ हाते स्पिनरहरुविरुद्ध संघर्ष गरिरहेका छन्। पञ्जाबविरुद्धको खेलमा पनि क्रुणाल हाबी भए। उनले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ११ रन खर्चिएर २ विकेट लिए। पञ्जाबविरुद्ध उनको इकोनोमी २.७५ थियो।
खेलपछि स्पोर्ट्स स्टारसँग कुरा गर्दै क्रुणालले भने,‘मैले विगत केही महिनादेखि आफ्नो बलिङ सुधार्न मिहिनत गरिरहेको छु। र, म आफ्नो क्षमता बढाउन चाहन्छु। मेरो मानसिकता स्पष्ट थियो, तर मैले आफ्नो क्षमतामा सुधार गर्नुपर्ने थियो। म अझ प्रभावकारी बलर बन्न सक्छु।’
क्रुणाल पञ्जाबविरुद्धको खेलमा आफ्नो बल धेरै टर्न नहोस् भनेर पनि चिन्तित थिए। उनले भने, ‘म धेरैजसो छोटो ढाँचाको खेल खेल्छु, त्यसैले मलाई केही थाहा छैन। म बलिङ गर्दा धेरै झुकेको थिएँ र मेरो खुट्टा पनि धेरै बाहिर निस्किरहेको थियो। मलाई कम झुकेमा धेरै टर्न आउँछ भन्ने लाग्यो। मेरो गतिमा धेरै भिन्नता थियो, तर यदि मैले स्पिन गरे भने म ब्याट्सम्यानको दिमागसँग खेल्न सक्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।