काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेञ्चाइजी टिम कोलकाता नाइट राइडर्सको स्वामित्वमा रहेको नाइट राइडर्स समूहले अमेरिकाको क्रिकेटमा लगानी गर्ने भएको छ।
नाइट राइडर्सले लस एन्जलस नजिकै एउटा स्टेडियम निर्माण गर्न लागेको हो। यो स्टेडियममा २०२३ मा मेजर क्रिकेट लिगका खेलहरू आयोजना गर्ने लक्ष्य राखिएको छ।
दक्षिणी क्यालिफोर्नियामा निर्माण भइरहेको यो रंगशालाको क्षमता कम्तीमा १० हजार हुनेछ। अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी) स्रोतका अनुसार यो रंगशाला निर्माणका लागि करिब ३ करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ।
सन् २०२४ को पुरुष टी२० विश्वकपका खेल पनि यहाँ हुन सक्ने बताइएको छ। वेस्ट इन्डिजसँगै अमेरिका पनि टी२० विश्वकपको सह–आयोजक हो। यसबाहेक यो स्टेडियम २०२८ मा तय भएको लस एन्जलस ओलम्पिकमा पनि प्रयोग गर्ने लक्ष्य राखिएको छ, जसमा क्रिकेटलाई पनि खेलको रूपमा प्रस्ताव गरिएको छ।
यो घोषणा गर्दै नाइट राइडर्स समूहका सह–मालिक शाहरुख खानले भने, ‘अमेरिकामा क्रिकेटको भविष्य निकै उज्यालो छ, र हामी नाइट राइडर्सलाई विश्वव्यापी टी२० ब्रान्डको रूपमा स्थापित गर्न चाहन्छौं। हाम्रो लागि लस एन्जलसमा स्टेडियम निर्माण गर्नु महत्त्वपूर्ण कदम हो। यसले पक्कै पनि अमेरिकी क्रिकेटको विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ।’
नाइट राइडर्सले वेस्ट इन्डिजको क्रिकेटमा पनि लगानी गरेको छ। उसको स्वामित्वमा रहेको टोलीट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग खेल्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।