काठमाडौं- घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीच पहिलो एकदिवसीय खेल पानीले विथोलेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लगातार पानी परेपछि टस समेत हुन सकेको छैन।
खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९:३० सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि टस अझै भएको छैन। कीर्तिपुर क्षेत्रमा वर्षा भइरहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ सँगको एकदिवसीय सिरिजका लागि शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीमा सुसन भारी, विनोद भण्डारी, सुनिल धमला र किशोर महतोले पुनरागमन गरेका छन्। यस्तै, युवा अलराउन्डर आदिल अन्सारी पहिलो पटक एकदिवसीय टोलीमा परेका छन्। यसअघि उनी टी२० टिममा थिए।
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप जिम्बावे ‘ए’सँग सिरिज खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।