काठमाडौं– चेन्नई सुपर किंग्सका प्रमुख अलराउन्डर मोइन अली अभ्यासका क्रममा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ र स्क्यान गरिएको छ।
मोइन शनिबार नै घाइते भएका थिए। फ्रेन्चाइजीले स्क्यानको नतिजा पर्खिरहेको छ, त्यसपछि मात्र चोटको गम्भीरता भन्न सकिन्छ। तर, उनले अबका केही खेल खेल्न नपाउने प्रष्ट छ।
तर, यो साता चेन्नईले दुई खेल मात्र खेल्न बाँकी छ। सोमबार पञ्जाबसँगको खेलपछि उनले करिब ६ दिनपछि मे १ मा सनराइजर्स हैदरावादसँग मैदानमा उत्रनेछन्।
यसअघि १७ अप्रिलमा उनी गुजरात टाइटन्सविरुद्धको खेलमा मैदान उत्रिएका थिए। २१ अप्रिलमा मुम्बई इन्डियन्सविरुद्धको खेलमा उनको स्थानमा मिचेल सेन्टनरलाई खेलाइएको थियो।
यो वर्ष मोइनको फार्म पनि राम्रो रहेन। भिसा समस्याका कारण उनी ढिलो टोलीमा सामेल भए। त्यसपछि खेलेका पाँच खेलमा ८७ रन मात्र बनाउन सकेका छन्। उनले ८ ओभर बलिङ गरेर पनि विकेट लिन सकेका छैनन्। यस क्रममा उनले ६८ रन खर्चेका छन्।
चेन्नई यस सिजन आफ्ना खेलाडीको चोटसँग लगातार संघर्ष गरिरहेको छ। यसअघि दुई मुख्य फास्ट बलर दीपक चाहर र एडम मिल्ने चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए। ८ खेलमा चेन्नईले दुई खेल मात्र जितेको छ र १० टोलीमध्ये ९ नम्बरमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।