काठमाडौं– अर्शदीप सिंह सोमबार चेन्नई सुपर किंग्सविरुद्ध बलिङ गर्न आउँदा पञ्जाब किंग्स १ सय ८७ रनको स्कोरको रक्षा गर्ने राम्रो स्थितिमा थिएन। दिल्ली क्यापिटल्ससँग ९ विकेटको ठूलो हार बेहोरेको पञ्जाबको टोलीलाई उत्कृष्ट कमब्याकको खाँचो थियो। तर, सोमबार पनि चेन्नईले पञ्जाबबाट लगभग खेल खोसिसकेको थियो।
अम्बाती रायुडु सुरुवाती खेलमा असफल भएपनि पञ्जाबविरुद्ध फर्ममा फर्किएका थिए। उनले १६औं ओभरमा सन्दीप शर्माको बलमा २३ रन लिए। अब चेन्नईलाई २४ बलमा ४७ रन चाहिएको थियो। अर्शदीपले विगत केही सिजनमा डेथ ओभरमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। उनी चेन्नईविरुद्ध पनि नर्भस नभइ नियन्त्रणमा बलिङ गरे।
यो ओभरमा बायाँ हाते फास्ट बलर अर्शदीपले उत्कृष्ट बलिङ गरे। उनले ६ बलमा १,१,१,०,१,२ रन दिए। उनको बलिङसामू चेन्नईमा फेरि दबाब आयो।
काम अझै सकिएको थिएन। १८औं ओभरमा कागिसो रबाडाले ६ रन दिए। अर्शदीप फेरि १९औं ओभरमा आए। त्यो समयमा चेन्नईलाई १२ बलमा ३५ रन आवश्यक थियो। अगाडि थिए, रविन्द्र जडेजा र महेन्द्र सिंह धोनी। उनीहरुले अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध म्याच–विनिङ इनिङ्स खेलेका थिए।
अर्शदीप दुई अनुभवी खेलाडीविरुद्ध बलिङ गर्दै थिए, जो आफ्नो फिनिशिङ कौशलका लागि परिचित छन्। यी दुवै ब्याट्सम्यानले वानखेडेको लेग साइडमा छोटो बाउन्ड्रीलाई लक्षित गर्नेछन् भन्ने अर्शदीपलाई पनि थाहा थियो।
तर, अर्शदीप नर्भस भएनन् र आफ्नो काम राम्रोसँग गरे। उनले धेरै वाइड योर्कर बल गरे। र, ८ रन दिए।
डेथ ओभरमा उनको उत्कृष्ट स्पेल थियो। चेन्नईलाई अन्तिम ओभरमा २७ रन चाहिएको थियो। धोनीका लागि पनि यो कठिन काम थियो। ऋषि धवनले अन्तिम ओभर बलिङ गरे र १५ रन मात्र दिए। धोनीलाई आउट गराए र पञ्जाबलाई ११ रनले जित दिलाए।
प्लेयर अफ द म्याच शिखर धवन (५९ बलमा ८८ रन), रबाडा र ऋषिले पाँच वर्षमा आफ्नो पहिलो आईपीएल खेल खेल्दै पञ्जाबको चौथो जितमा महत्वपूर्ण योगदान पुर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।