काठमाडाैं-इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सका ओपनर जोश बट्लरले तेस्रो शतक प्रहार गरेका छन्। बट्लरले शुक्रबार दिल्ली क्यापिटल्सविरुद्ध यस सिजनको तेस्रो तथा लगातार दोस्रो उत्कृष्ट शतक प्रहार गरेका हुन्।
वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले १६ ओभरमा १ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको छ। बट्लर ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ बनाए। बट्लरले ५७ बलमा शतक पूरा गरेका थिए।
बटलर शिखर धवनपछि आईपीएलमा लगातार शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। दिल्लीबाट धवनले २०२० मा दुई लगातार शतक प्रहार गरेका थिए। बट्लरले यसअघि कोलकाता नाइट राइडर्ससँग ६१ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको इनिङ्स खेलेका थिए। मुम्बई इन्डियन्ससँग उनले ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको अविजित इनिङ्स खेलेका थिए।
बट्लरको आईपीएल करिअरको भने यो चौथो शतक हो। बट्लरले २०२१ मा सनराइजर्स हैदराबादविरुद्ध ६४ बलमा १ सय २४ रनको इनिङ्स खेलेका थिए।
आईपीएलमा एकै सिजनमा सर्वाधिक शतक रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीले प्रहार गरेका छन्। कोहलीले २०१६ मा एकै सिजनमा ४ शतक प्रहार गरेका थिए। २०१६ मा कोहलीले ४ शतक र ७ अर्धशतकसहित कुल ९ सय ७३ रन बनाएका थिए। बट्लरले यस सिजनमा ७ खेलमा ४ सय ९१ रन बनाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।