काठमाडौं– जिम्बाबे क्रिकेट बोर्डले नेपालको घरेलु मैदानमा खेल्ने तीन एकदिवसीय र तीन टी२० सिरिजका लागि टोली घोषणा गरेको छ।
टोलीमा स्टार खेलाडी नरहे पनि जिम्बाबेको राष्ट्रिय टोलीबाट खेलिसकेका ८ खेलाडी छन्। नेपाल आउने टोलीमा भिक्टोर न्याचील, ल्युक जोङ्वे, टिनोटेन्डा मुतोम्बोड्जी, मभुता ब्रेन्डनले, टोनी मुनयोंगाले, तादिवानाशे मारुमनी, रोए इन्नोसेन्ट र काइया इनोसेन्टजस्ता खेलाडी छन्।
जिम्बाबे आईसीसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेको छ। त्यसैले, नेपाल र दक्षिण अफ्रिकाको ‘ए’ टिमसँग सिरिज खेल्दै छ। दक्षिण अफ्रिकासँग सिरिज भने जिम्बाबे ११ ले घरेलु मैदानमा खेल्नेछ।
जिम्बाबेको टोली यही अप्रिल २८ मा नेपाल आउने क्यान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल लाइभलाई जानकारी दिए।
वैशाख १७ गतेदेखि एकदिवसीय सिरिज सुरु हुनेछ। जसमा पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एकदिवसीय खेल २१ गते हुनेछ।
यस्तै, टी२० सिरिजअन्तर्गत पहिलो खेल वैशाख २३ गते हुनेछ भने दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ।
टेस्ट मान्यता प्राप्त देशको ‘ए’ टिम भएको हुनाले एकदिवसीय खेलहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले लिस्ट ‘ए’को मान्यता दिनेछ।
नेपाल आउने जिम्बाबेको टोली
जोनाथन क्याम्पबेल, जोन मसारा, कुडजाई माउन्जे, ब्रेन्डन माभुता, टोनी मुन्योंगा, तिनोतेन्दा मुतोम्बोड्जी, भिक्टर न्याउची, ब्राडली इभान्स, ट्रेभर ग्वान्डु, ल्यूक जोङ्गवे, इनोसेन्ट काइया, रोय काइया, क्लाइभ मडान्डे, तादिवानाशे मारुमनी तफाडवा सिगा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।