काठमाडौं– चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले सातौं हार बेहोरेको छ।
जितका लागि पछ्याएको १ सय ५६ रनको विजयी लक्ष्य चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
चेन्नईका लागि अम्बाती रायुडूले ३५ बलमा सर्वाधिक ४० रन बनाए भने महेन्द्रसिंह धोनीले १३ बलमा अविजित २८ रन जोडे।
मुम्बईका तीव्र गतिका बलर ड्यानियल साम्सले ४, जयदेव उनादकटले २ तथा राइली मेरिडिथले १ विकेट लिए।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। मुम्बईका तिलक बर्माले ४३ बलमा सर्वाधिक ५१ रनको अविजित इनिङ खेले भने सूर्यकुमार यादवले २१ बलमा ३२ बनाए।
चेन्नईका तीव्र गतिका बलर मुकेश चौधरीले ३ तथा ड्वेन ब्राभोले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।