काठमाडौं– विश्वकप सुपर लिग अन्तर्गत नेदरल्याण्ड्सले आगामी अगस्टमा पाकिस्तानी टोलीसँग खेल्ने भएको छ।
यी दुई टोलीबीच तीन एकदिवसीय खेलको सिरिज हुन लागेको हो। यो सिरिज जुन २०२० मा नै खेल्ने भनिएपनि कोरोनाका कारण स्थगित भएको थियो।
यो सिरिज दुई देशबीचको पहिलो एकदिवसीय सिरिज हुनेछ। तीनवटै खेल अगस्ट १६, १८ र २१ मा भिओसी क्रिकेट मैदानमा हुनेछन्।
यसअघि दुवै टोली विश्वकप (१९९६ र २००३) र एक पटक च्याम्पियन्स ट्रफी (२००२) मा आमनेसामने भएका थिए। पाकिस्तानले यी तीनवटै खेल जितेको थियो।
पीसीबीका निर्देशक जाकिर खानले नेदरल्याण्ड्समा क्रिकेटको विकास र २०२३ को विश्वकपलाई ध्यानमा राख्दै सिरिजको पुन: तालिकामा गरेको सहयोगका लागि नेदरल्याण्ड्स क्रिकेट बोर्डलाई कृतज्ञता व्यक्त गरेका छन्।
जाकिरले भने,‘हाम्रो पुरुष राष्ट्रिय क्रिकेट टोलीले सन् २०२१–२२ को सिजन राम्रो प्रदर्शन गरे। उनीहरूले विदेशी पाकिस्तानी र डच दर्शकहरूलाई क्रिकेटबाट मनोरञ्जन दिनेछन् भन्नेमा म विश्वस्त छु। यो सिरिजले नयाँ र युवा दर्शकहरूलाई खेलमा आकर्षित गर्न मद्दत गर्नेछ।’
नेदरल्याण्ड्स हाल सुपर लिगको तालिकामा १० खेलमा दुई जितसहित १३औं स्थानमा छ भने १२ खेलमध्ये ६ खेलमा जित निकालेको पाकिस्तान नवौं स्थानमा छ। शीर्ष सात टोली र भारतमा २०२३ मा हुने पुरुष विश्वकपका लागि सिधै छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।