काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके शुक्रबार नेपाल फर्किने भएका छन्।
चैतमा पपुवा न्यू गिनीविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्यूगिनी र मलेसियासहितको टी२०आई सिरिज सकिएपछि उनी क्यानडा फर्किएका थिए।
तर, यही वैशाखमा जिम्बाबे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन टी२० खेल हुने तय भएसँगै उनी शुक्रबार नेपाल फर्किन लागेका हुन्। दुवै फर्म्याटको सिरिज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ।
‘उहाँ (पुबुदु) २२ तारिक (शुक्रबार) नेपाल फर्कने भन्ने कुरा छ। त्यसपछि नेपाली टोलीको प्रशिक्षण सुरु हुनेछ,’ नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त मल्लले नेपाल लाइभसँग भने।
चैतमा प्रशिक्षक पुबुदुले दुई फर्म्याटका लागि दुई फरक टोली घोषणा गरेका थिए। उनले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर र विकेट किपर विनोद भण्डारीलगायत नाम चलेका खेलाडीलाई दुवै फर्म्याट बाहिर राखेका थिए।
चैतको सिरिजअघि मल्ल र भण्डारीलाई आराम चाहिएको कारण टोलीमा नसमेटेको प्रशिक्षक पुबुदुको भनाइ थियो। यता, भेषवाकर भने घाइते थिए।
जिम्बाबेविरुद्धको सिरिजमा मल्ललगायत खेलाडीले पुनरागमन गर्ने सम्भावना छ। यता, चैतको सिरिजमा अधिकांश युवा खेलाडीले राम्रो प्रदर्शन गरेका कारण यही टोलीलाई निरन्तरता दिने सम्भावना पनि उत्तिकै छ। तर, टोली छनोटको कुरा भने प्रशिक्षकमै निर्भर रहने क्यान कार्यवाहक सचिव मल्लले बताए।
‘खेलाडी प्रदर्शनलाई आधार मानेर कप्तान, प्रशिक्षक र सेलेक्टरको सल्लाहमा टोली बनाउने हो। कतिको प्रदर्शन खस्किएको छ र कतिले राम्रो सम्भावना देखाएका छन्। त्यसैले पहिला खेलिरहेका खेलाडीबाटै टोली बन्ने छ,’ उनले भने।
जिम्बाबे आईसीसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेको छ। त्यसैले, नेपाल र दक्षिण अफ्रिकाको ‘ए’ टिमसँग सिरिज खेल्दै छ। दक्षिण अफ्रिकासँग सिरिज भने जिम्बाबे ११ ले घरेलु मैदानमा खेल्नेछ।
जिम्बाबेको टोली यही अप्रिल २८ मा नेपाल आउने क्यान कार्यवाहक सचिव मल्लले जानकारी दिए ।
वैशाख १७ गतेदेखि एकदिवसीय सिरिज सुरु हुनेछ। जसमा पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एकदिवसीय खेल २१ गते हुनेछ।
यस्तै, टी२० सिरिजअन्तर्गत पहिलो खेल वैशाख २३ गते हुनेछ भने दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ।
टेस्ट मान्यता प्राप्त देशको ‘ए’ टिम भएको हुनाले यी खेलहरूलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले लिस्ट ‘ए’को मान्यता दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।