काठमाडौं– पाकिस्तानमा इमरान खानको सरकार ढलेसँगै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को अध्यक्षताको पनि पद धरापमा परेको टिप्पणी हुन थालेको छ। गत वर्ष इमरानले रमीज राजालाई पीसीबीको अध्यक्षमा निर्वाचित गरेका थिए।
तर, इमरानलाई हटाएपछि अहिले रमीजको अध्यक्षतामा कालो बादल मडारिरहेको छ। सामान्यतया सरकार परिवर्तन हुँदा पीसीबीको नयाँ अध्यक्ष नियुक्त गरिन्छ। नयाँ प्रधानमन्त्री शाहबाज शरीफले स्वचालित रूपमा पीसीबीको संरक्षकको पद ग्रहण गर्ने छन्। अहिले उनी नयाँ पीसीबी अध्यक्षको खोजीमा रहेको बताइन्छ।
अविश्वासको प्रस्तावपछि गत अप्रिल १० मा इमरानलाई प्रधानमन्त्री पदबाट हटाइएको थियो। त्यसपछि उनको पार्टी (पाकिस्तान तहरीक-ए-इन्साफ) का सांसदहरूले संसद्बाट राजीनामा दिएका छन् र विभिन्न राज्य संस्थाहरूमा पार्टीका नियुक्तिहरू क्रमशः हटाउने या प्रतिस्थापन भइरहेको छ।
मिलेर बनेका दलहरुको गठबन्धन सरकारले अहिले नयाँ मन्त्रिपरिषद् गठनको काम गरिरहेको छ। अहिले क्रिकेटलाई उच्च प्राथमिकतामा राखिएको छैन, तर बोर्डमा परिवर्तन आउने सम्भावना बढेको छ।
रमीजको स्थानमा बोर्डका पूर्वअध्यक्ष तथा शरीफ परिवारका सहयोगी नजम सेठीको नाम चर्चामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।