काठमाडौं– अस्ट्रेलिया तथा दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्सलाई कोरोना संक्रमण भएको छ। आईपीएलको नियम अनुसार मार्स कम्तिमा एक साता क्वारेन्टिनमा बस्नुपर्नेछ। यसअघि शुक्रबार टोलीका फिजियो प्याट्रिक फरहार्टमा पनि कोरोना पोजेटिभ देखिएको थियो। यसबाहेक दिल्ली टोलीका अर्का सदस्य क्वारेन्टिनमा गएका थिए।
सोमबार क्यापिटल्स टोलीका सबै सदस्यको आरटी–पीसीआर परीक्षण गरिएको थियो। पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै आईपीएल व्यवस्थापनले अप्रिल २० मा पञ्जाब किंग्ससँग खेल खेल्न दिल्लीको टोली पुणे जान सक्ने हो कि होइन भन्नेबारे निर्णय गर्नेछ।
रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको अन्तिम खेलमा मार्स र्यापिड एन्टिजेन टेस्टमा पोजेटिभ पाइएका थिए। ब्याटिङका क्रममा मार्सले गति समात्न नसकेपछि अन्ततः दिल्ली पराजित भएको थियो।
दिल्लीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिचेल मार्सलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। साथै दिल्ली क्यापिटल्सका अन्य सदस्यहरूको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनीहरूमा कोरोनाको कुनै लक्षण देखिएको छैन।’
खेलाडीको आरटी– पीसीआर मंगलबार पुनः हुनेछ। त्यसपछि दिल्लीको टोली पुणे जाने कि नजाने भन्ने निर्णय आईपीएल व्यवस्थापनले निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।