काठमाडौं– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको छ।
जितका लागि १ सय ५२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
हैदराबादका एडेन माक्ररम सर्वाधिक ४१ रनमा अविजित रहे। उनले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। निकोलस पुरन ३० बलमा १ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे।
ओपनर अभिषेश शर्मा ३५, राहुल त्रिपाठी ३४ र केन विलियम्सन ३ रनमा आउट भए। पन्जाबका राहुल चाहरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब २० ओभरमा १ सय ५१ रनमा अलआउट भयो। पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६० रनको योगदान दिए। जारी सिजनमा उनको तेस्रो अर्धशतक हो। उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
शाहरुख खानले २८ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। प्रभसिम्रन सिंह १४, ओडेन स्मिथ १३, जोनी बेयरस्टो १२, जितेश शर्मा शर्मा ११ र कप्तान शिखर धवन ८ रनमा आउट भए।
हैदराबादका उमरन मलिकले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ४ विकेट लिए। भुवनेश्वर कुमारले ३ विकेट लिए। टि नटराजन, जगदीश सुचिथले १–१ विकेट लिए।
हैदराबादको लगातार चौथो जित हो। हैदराबाद चौथो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। हैदराबादले अब शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ। पन्जाबले बुधबार दिल्लीसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।