काठमाडौं– इङ्ल्यान्डका फास्ट बलर साकिब महमूदले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने प्रस्ताव अस्वीकार गरेका छन्। उनी ल्याङ्कशायरबाट काउन्टी क्रिकेट खेलेर आफ्नो टेस्ट स्थान सुरक्षित गर्न चाहन्छन्। चोटग्रस्त खेलाडीको सट्टा उनलाई आईपीएल खेल्ने अफर गरिएको थियो।
उनले वेस्ट इन्डिज भ्रमणमा टेस्ट डेब्यू गरेका थिए। उक्त भ्रमणमा उनले २२.८३ को औसतमा ६ विकेट लिएका थिए। उनी सीमित ओभरका खेलहरूमा पनि सफल भएका छन्।
उनले भने,‘मैले धेरै भन्दा धेरै टेस्ट क्रिकेट खेल्न सकूँ भनेर आईपीएलको प्रस्ताव अस्वीकार गरेको छु। मलाई यो प्रस्ताव वेस्ट इन्डिजमा हुँदा आएको थियो। यो सजिलो निर्णय थिएन, तर यो एउटा निर्णय थियो जुन मैले गर्नुपर्ने थियो।’
तर, महमूदले आईपीएलका लागि कुन टोलीबाट अफर आएको हो भन्ने खुलाउन चाहेनन्। यसका लागि उनले बेन स्टोक्ससँग पनि परामर्श लिएको उनको भनाइ छ। स्टोक्स पनि यस वर्षको आईपीएलमा सहभागी भएनन्।
महमूदले भने,‘म एक दिन स्टोक्ससँग ब्रेकफास्टमा कुरा गरिरहेको थिएँ। मैले उनलाई यो वर्षको आईपीएल किन नखेलेको भनेर सोधें र उनले टेस्ट क्रिकेटलाई प्राथमिकता दिन चहेको बताए। म पनि नियमित रूपमा टेस्ट क्रिकेट खेल्न चाहन्थें, त्यसैले मैले स्टोक्सजस्तै सहभागी नहुने निर्णय गरें।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।