काठमाडौं– श्रीलंकामा सरकारको विरोध गर्दै क्रिकेटरहरू प्रदर्शनमा उत्रिएका छन्।
श्रीलंकाको खस्किएको अर्थतन्त्रको विरोेधमा पूर्वक्रिकेटर दम्मिका प्रसाद शनिबार २४ घण्टाको भोक हड्तालमा बसे। उनको समर्थनमा विश्व क्रिकेटका विस्फोटक पूर्वब्याट्सम्यान सनथ जयसूर्या पनि मैदानमा उत्रिएका छन्।
दाम्मिकाको भोक हड्तालमा पूर्वकप्तान अर्जुना रणातुङ्गा, कुमार संगाकारा, महेला जयवर्धने, रोशन महानामा र मार्वन अट्टापट्टुले पनि समर्थन जनाएका छन्।
सन् १९९६ मा आफ्नो कप्तानीमा श्रीलंकालाई विश्वकप दिलाएका रणातुङ्गाले भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका आफ्ना देशका खेलाडीलाई देश फर्किएर प्रदर्शनमा भाग लिन अपील समेत गरेका छन् ।
शनिबार राजधानी कोलम्बोमा भएको प्रदर्शनमा उत्रिएका जयसूर्याले श्रीलंका अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको बताएका छन्। उनले आफ्नो प्रदर्शन अहिंसात्मक भएको भन्दै श्रीलंकामा राजनीतिक परिवर्तन नै अन्तिम विकल्प भएको बताए। उनले राष्ट्रपति गोटाबय राजपाक्षेलाई जनताको जनआवाज सुन्न पनि आग्रह गरे।
उनले भने, ‘हामी राजनीतिज्ञ होइनौं। क्रिकेट खेलाडी हौं। त्यसैले सरकारले सर्वसाधारण जनताको कुरा सुन्नु पर्छ।’ दम्मिकाले गत इस्टरमा मारिएका व्यक्तिहरूलाई न्याय दिलाउन तथा देशको बिग्रदो आर्थिक अवस्थाको विरोधमा आफू भोक हड्तालमा बसेको बताएका छन्। क्रिकेटरको प्रदर्शनमा जनताको उत्साह देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।