काठमाडौं– श्रीलंकाका पूर्वब्याट्सम्यान नाभिद नवाज सिनियर पुरुष टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्। उनले नवनियुक्त मुख्य प्रशिक्षक क्रिस सिल्वरवुडसँग काम गर्नेछन्।
नवाजको प्रशिक्षणमा बंगलादेशले सन् २०२० मा यू-१९ विश्वकप जितेको थियो। श्रीलंकाली टोलीमा उनको नियुक्ति दुई वर्षको लागि हो।
योसँगै श्रीलंकाका पूर्वफास्ट बलर चामिन्दा भासलाई फास्ट बलिङ प्रशिक्षकमा नियुक्त गरिएको छ। उनले विगत १० वर्षमा यो जिम्मेवारी पटक पटक सम्हालेका छन्। उनलाई पुन: यो जिम्मेवारी दिइएको छ।
श्रीलंकाको टोलीको स्पिन बलिङ प्रशिक्षकमा पीएल विजेटुङ्गे नियुक्त भएका छन् भने मनोज अबेविक्रम टोलीको फिल्डिङ प्रशिक्षकमा नियुक्त भएका छन्। यी सबै प्रशिक्षक मे महिनाबाट श्रीलंकाली टोलीको नेतृत्व सम्हाल्ने छन्।
यसअघि मिकी आर्थरको स्थानमा नवाजलाई मुख्य प्रशिक्षक बनाउने चर्चा चलेको थियो। तर, सिल्वरवुडको अन्तर्राष्ट्रिय कोचिङ अनुभवका कारण नवाजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएन।
नवाजले श्रीलंकाका लागि एक टेस्ट र तीन एकदिवसीय खेलेका छन्। प्रथम श्रेणी क्रिकेटमा उनले ३६.२७ को औसतमा ६८९२ रन बनाएका छन्।
भास आर्थरको कार्यकालमा बलिङ प्रशिक्षक पनि थिए। उनको कार्यकाल डिसेम्बरमा सकिएको थियो, जुन अझै लम्बिएको छ। तर, उनी अब बलिङ प्रशिक्षकको सट्टा फास्ट बलिङ प्रशिक्षक मात्रै रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।