काठमाडौं- थानकोट–नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ। सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि निर्माण कार्य ठप्प भएणको जनाइएको छ।
सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको बताए।
'आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पुर्याएको भन्दै जापानी निर्माण कम्पनीले काम गर्न नमान्दा काम ठप्प भएको हो' उनले भने।
करिब एक सय जनाको समूहमा आएका स्थानीयवासीले ढुङ्गामुढा, लाठी र लात्तीमुक्का प्रयोग गरी कार्यालयको ब्लक नम्बर १ भवनको छ सेट झ्याल र एउटा ढोका, ब्लक नम्बर २ को चार सेट झ्याल, मेडिकल हलको दुईवटा झ्याल र एउटा ढोका तोडफोड गर्नुका साथै कार्यालय परिसरमा राखिएको बा१८च ४१२ नम्बरको जिपसमेत तोडफोड भएको उनले जानकारी दिए।
दैनिक १२ मिटर सुरुङ खन्ने काम हुँदै गरेकोमा छ दिनदेखि काम ठप्प भएको उनले बताए।
सुरुङमार्ग निर्माण ठप्प हुँदा राज्यलाई दैनिक करिब डेढ करोड रुपियाँ घाटा भइरहेको आयोजना प्रमुख शाक्यले बताए। समस्या समाधानको प्रयास भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।