काठमाडौं– इङ्ल्यान्ड टेस्ट टोलीका कप्तान जो रुटले राजीनामा दिएका छन्। ३१ वर्षीय रुटले शुक्रबार राजीनामा दिएका हुन्। वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज गुमाएपछि रुटको आलोचना हुँदै आएको थियो।
रुटले भने, ‘वेस्ट इन्डिजको भ्रमणबाट फर्किएपछि मैले इङ्ल्यान्डको टेस्ट कप्तानबाट राजीनामा दिने निर्णय गरेको हुँ। मलाई थाहा छ कप्तानी त्याग्ने यो सही समय हो।’
रुटले पाँच वर्षसम्म इङ्ल्यान्डका लागि टेस्ट टोलीको कप्तानी गरेका थिए। उनले इङ्ल्यान्डकाका लागि ६४ टेस्टमा कप्तानी गरे। जसमध्ये इङ्ल्यान्डले २७ जित र २६ हारे व्यहोरेको थियो। तर, उनको टोलीले पछिल्ला १७ खेलमा एक खेल मात्र जित्न सकेको थियो।
उनले भने,‘देशको लागि कप्तानी गर्न पाएकोमा म गर्व गर्छु। यो पदमा आउन पाउनु सम्मानको कुरा हो। मलाई देशको नेतृत्व गर्न निकै रमाइलो लाग्यो। तर, हालै यस्तो ममाथि जुन दबाब आयो, त्यसले मलाई खेलमा मात्र नभइ बाहिर पनि असर गरेको छ।’
आफूले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहने जानकारी दिँदै उनले अझै राम्रो प्रदर्शन गर्दै टोलीको जितमा योगदान दिन आतुर रहेको बताए। ‘म आगामी कप्तान, मेरो सहकर्मी र प्रशिक्षकलाई मद्दत गर्न सधैं तयार हुनेछु,’ उनले थपे।
उपकप्तान बेन स्टोक्सलाई कप्तानको सबैभन्दा ठूलो दावेदार मानिन्छन्। रोरी बर्न्स, स्टुअर्ट ब्रोड र जोस बट्लर पनि कप्तानका लागि दावेदार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।