काठमाडौं– उत्तर प्रदेश–११ ले प्रो-क्लब च्याम्पियनसिपमा तेस्रो स्थान पक्का गरेको छ। शुक्रबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उत्तर प्रदेशले नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गरेको हो।
१ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको आर्मी १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३५ रन बनाए। उनले ३९ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यता, भीम सार्कीले ११ र सन्तोष कार्कीले १० रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
उत्तर प्रदेशका तेजस सिंह र विपिन चन्द्रले ३–३ विकेट लिए। यता, दिव्य सिंहले २ तथा सन्दीप मित्तल र प्रिन्स शाहीले १–१ विकेट लिए।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो। उसका लागि सन्दीप मित्तलले सर्वाधिक ४३ रन बनाए। उनले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यता, सन्नी सिंहले २४ बलमा ४ चौकासहित २६ रन जाडे।
राहुल कुमार र विपिन चन्द्रले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिए। यता, शाहब आलम र सुसन भारीले २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।