काठमाडौं– प्रो-क्लब च्याम्पियनसिपको उपाधिको लागि रुपन्देही-११ र मलेसिया-११ भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै रुपन्देहीले फाइनलमा मलेसियासँगको भेट पक्का गरेको हो।
आर्मीले दिएको १ सय ४ रनको लक्ष्य रुपन्देहीले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। रुपन्देहीको जितमा बसिर अहमदले सर्वाधिक ४५ रन जोडे। उनले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
यता, सन्दीप रजाली १९ रनमा अविजित रहे। उनले ४४ बलमा १ चौक्का प्रहार गरे। विशालविक्रम केसीले १३ रन बनाए भने सौरभ खनाल १० रनमा अविजित रहे।
आर्मीका विक्रम सोबले ३ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ३ विकेट लिए। त्यसअघि सिदार्थनगर क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३ रन जोडेको थियो।
आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ३६ रन जोडे। उनले ४० बलमा ४ चौका प्रहार गरे। हरि चौहानले १७ तथा राजेश पुलामीले १३ रन बनाए।
रुपन्देहीका रुपेश कुर्मी र बसिर अहमेदले २/२ विकेट लिए। अब फाइनलमा रुपन्देहीले मलेसियासँग खेल्नेछ। पहिलो सेमिफाइनल खेलमा उत्तर प्रदेश क्लब-११ लाई १४ रनले हराउँदै मलेसिया फाइनल पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।