काठमाडौं– भारतीय राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर दीपक चहार करिब चार महिना मैदानबाहिर रहने भएका छन्।
इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्समा आवद्द भएका चहार ढाडको चोटकै कारण प्रतियोगिताबाट समेत बाहिरिसकेका छन्। र, अहिले चहार अक्टोबरदेखि नोभेम्बरसम्म अस्ट्रेलियामा हुने टी२० विश्वकपबाट पनि बाहिरिने सम्भावना बढेको छ।
गत फेब्रुअरीमा वेस्ट इन्डिजविरुद्धको टी२० सिरिजमा उनलाई ढाडमा चोट लागेको थियो। ढाडको समस्याबाट गुज्रिरहेका चहारको मेडिकल रिर्पोटले कम्तीमा चार महिना खेल्न नसक्ने देखाएको भारतीय मिडियाहरुले जनाएका छन्। उनको ढाडको चोट गम्भीर रहेको बताइएको छ।
पछिल्लो सिजन चेन्नईबाटै आईपीएल खेलेका चहारलाई टोलीले रिलिज गरे पनि अक्सनमार्फत् पुन: अनुबन्ध गरेको थियो। अक्सनमा चहारलाई चेन्नईले १४ करोड भारु खर्चेको थियो।
उनको अनुपस्थितिमा एडम मिल्ने, मुकेश चौधरी र तुषार देशपाण्डलाई मौका दिइएको थियो, तर सफल हुन सकेका छैनन्। अब चेन्नईसँग केएस आसिफ र राजवर्धन हङ्गारगेकरको विकल्प छ, जसलाई आगामी खेलहरूमा मौका दिइनेछ।
चाहर चेन्नईका लागि ओपनिङ ओभरका प्रमुख स्विङ बलर हुन्। उनको अनुपस्थितिले चेन्नईको टोलीमा सन्तुलन बिग्रिएको छ। टोलीले ५ मध्ये ४ खेल हारेको छ। यी ४ खेलमा चेन्नईले पावरप्लेमा विकेट लिन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।