काठमाडौं- अस्ट्रेलियाका पूर्वटेस्ट अलराउन्डर एन्ड्रयु म्याकडोनाल्डलाई औपचारिक रूपमा अस्ट्रेलियाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। उनको सम्झौता चार वर्षको हुनेछ।
म्याकडोनाल्ड २०१९ देखि अस्ट्रेलियाली टोलिका वरिष्ठ सहायक प्रशिक्षक तथा बलिङ मेन्टर र पाकिस्तान भ्रमणको लागि अन्तरिम प्रशिक्षक थिए।
म्याकडोनाल्ड २०२० मा भारतमा भएको एक एकदिवसीय सिरिज, २०२१ मा न्यूजिल्याण्डमा पाँच टी२० भ्रमण र यस वर्ष श्रीलंकाविरुद्धको घरेलु टी२० सिरिजमा प्रशिक्षक थिए।
जस्टिन ल्याङ्गर बाहिरिएपछि क्रिकेट अस्ट्रेलियाले पूर्वकप्तान रिकी पोन्टिङ, इङ्गल्याण्डका पूर्वप्रशिक्षक ट्रेभर बेलिस र वर्तमान महिला टोलीका प्रशिक्षक म्याथ्यू मोटलगायत धेरै जनासँग कुरा गरेको थियो।
क्रिकेट अस्ट्रेलियाका एक अधिकारीका अनुसार हालको टोलीका खेलाडीको लोकप्रियता र पछिल्लो प्रदर्शनका कारण म्याकडोनाल्डभन्दा राम्रो विकल्प थिएन।
भिक्टोरिया र मेलबर्न रेनेगेड्ससँगको सफलता म्याकडोनाल्डको कोचिङ करिअरमा कोसेढुङ्गा हो। २०१८/०१९ सिजनमा उनको टोलीले शेफिल्ड शिल्ड, मार्स कप र तीन बीबीएल उपाधि जित्यो। उनी आईपीएलमा राजस्थान रोयल्सको मुख्य प्रशिक्षक पनि भइसकेका छन् र द हन्ड्रेडको पहिलो सिजनमा बर्मिङ्घम फिनिक्सले
नियुक्त गरेको थियो। तर, अस्ट्रेलियाली टोलीको तालिका कारण उक्त भूमिका निभाउन सकेनन्।
अबको केही महिनामा अस्ट्रेलियाली टोली निक्कै व्यस्त रहने छ। श्रीलंकाविरुद्धको टेस्ट भ्रमण, घरेलु टी२० विश्वकप, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्ध घरेलु टेस्ट, भारतविरुद्ध टेस्ट सिरिज, सम्भावित विश्व टेस्ट च्याम्पियनसिपको फाइनल, इङ्गल्याण्डमा एशेज र त्यसपछि ५० ओभरको विश्वकप।
यस्तो अवस्थामा म्याकडोनाल्डले सपोर्ट स्टाफलाई पनि नियमित आराम दिन चाहन्छ र यस्तो अवस्थामा सहायक प्रशिक्षकले पनि आफ्नो ठाउँ लिने मौका पाउनेछन्।
म्याकडोनाल्डका सहायक प्रशिक्षकहरू माइकल डिभेनुटो (ब्याटिङ), जेफ भन (फिल्डिङ) र श्रीराम (बलिङ) हुन्, जो ल्याङ्गरको कार्यकालमा नियुक्त भएका थिए। म्याकडोनाल्ड जर्ज बेली र टोनी डोडिमेडसँग छनोट समितिमा सामेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।