काठमाडौं– इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बई पराजित भएको छ। बुधबार राति सम्पन्न खेलमा मुम्बई पञ्जाब किंग्ससँग १२ रनले पराजित भएको हो। जारी सिजनमा मुम्बईको यो लगातार पाँचौं हार हो।
जितका लागि १ सय ९९ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रनमा समेटियो। मुम्बईका डेवाल्ड ब्रेभिसले २५ बलमा ४९ रनको विष्फोटक इनिङ खेले भने सूर्यकुमार यादवले ३० बलमा ४३ रन बनाए।
पञ्जाबका कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने ओडेन स्मिथले ३ ओभरमा ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो। पञ्जाबका ओपनर शिखर धवनले ५० बलमा सर्वाधिक ७० रन बनाए।
मुम्बईका बासिल थाम्पीले सर्वाधिक २ विकेट लिए भने जस्प्रित बुमराह, मुरुगन आश्विन, जयदेव उनादकटले १–१ विकेट लिए।
पञ्जाब ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा उक्लिएको छ। पञ्जाबले अब आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।
पाँच पटकको च्याम्पियन मुम्बई भने ५ खेलमा जित बिहीन हुँदै पुछारमा छ। मुम्बईले अव शनिबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।