काठमाडौं– मेलम्चीको पानी आज (मंगलबार)देखि सुरुङमा पथान्तरन गरिने भएको छ। पुनर्निर्माण सम्पन्न भएकाले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
गत असार र साउनमा आएको बाढीले गरेको क्षतिको पुनर्निर्माण तथा सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको समितिले जनाएको छ। आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए।
गत असार १ र साउन १७ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो। सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो। पथान्तरण सुरु भए पनि काठमाडौंमा पानी आउन अझै केही दिन लाग्ने लाग्नेछ।
गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न थालिएको थियो।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा आएको बाढीले आयोजना पूर्णरुपमा पुरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।