काठमाडौं– उत्तर प्रदेश क्लब-११ले प्रो-क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।
अस्ट्रेलियाली लेजेण्ड शेन वार्नको स्मृतिमा भैरहवामा जारी प्रतियोगिता सोमबार उत्तर प्रदेशले विभागीय क्लब एपीएफलाई ७ विकेटले पराजित गरेको हो। योसँगै उत्तर प्रदेश सेमिफाइनल नजिक पुगेको छ। यता, एपीएफको यो लगातार दोस्रो हार हो।
एपीएफले लिएको ७७ रनको लक्ष्य उत्तर प्रदेशले ३ विकेट गुमाएर १३.२ ओभरमा पूरा गर्यो। उत्तर प्रदेशको लागि राज यादवले सर्वाधिक २९ रन बनाए। यता, विवेक सिंहले २२ रनको योगदान दिए।
यसैगरी, राहुल कुमार १६ तथा नितिन राम ५ रन बनाएर आउट भए। एपीएफका अमरसिंह रौटेला र नन्दन यादवले एक/एक विकेट लिए।
त्यसअघि घरेलु मैदान सिद्धार्थ रंगशाला भैरहवामा पहिला ब्याटिङ थालेको एपीएफले १७.१ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो।
एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २१ रन बनाए। यता, सुमित महर्जनले १६ र पुरन विकले १२ रन जोडे।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। उत्तर प्रदेशका प्रिन्स शाहीले सर्वाधिक ४ विकेट लिए। विपिन चन्दले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।