काठमाडौं– नेपाली क्रिकेट टोलीले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टी२० विश्वकप सिधै खेल्न पाउने सम्भावना बनेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार २०२४ मा हुने विश्वकप छनोटको ढाँचा सार्वजनिक गरेको छ। जसमा नेपालको सिधैं विश्वकप खेल्न पाउने सम्भावना छ।
२०२४ देखि टी२० विश्वकपमा २० टोली हुने आईसीसीले जनाएको छ। आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी२० विश्वकपबाट शीर्ष ८ टोली सोझै छनोट हुनेछन्।
अमेरिका र वेस्टइन्डिज आयोजकको रुपमा स्वत: छनोट हुनेछन्। सन् २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरीयता अनुसार त्यसपछिका शीर्ष २ टोली विश्वकपमा हुने आईसीसीले जनाएको छ। बाँकी ८ देश पाँच क्षेत्रको विभिन्न छनोट खेलेर आउने छन्। वरीयता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिने आईसीसीको भनाइ छ।
नेपाल वर्तमान समयमा टी२० विश्वकपमा १२औं स्थानमा छ। जसले गर्दा नेपालको सम्भावना उच्च देखिन्छ। यदि वेस्टइन्डिज यस वर्ष हुने टी२० विश्वकपमा शीर्ष ८ मा परेमा वरीयताको आधारमा तीन टोली २०२४ को विश्वकप खेल्नेछन्। नेपालले अहिलेको वरीयतालाई कायम राखे स्वतः छनोट हुनेछ।
नेपाल वरीयताको आधारमा छनोट हुन नसके एसिया छनोट खेल्नु पर्ने हुन्छ। एसिया क्षेत्र छनोटबाट दुई टोलीले स्थान बनाउने छन्। टी२० विश्वकपको ग्लोबल छनोट भने हुनेछैन।
८ क्षेत्र मध्य अफ्रिका, युरोप र एसिया क्षेत्रको छनोटबाट दुई/दुई देश विश्वकपमा पुग्नेछन्। अमेरिका र एसिया प्यासेफिक क्षेत्रबाट १/१ टोली आउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।